काभ्रे । निर्माणाधीन धुलिखेल-साँगा सडक खण्डको कल्भर्ट निर्माण कार्य रोक्न उच्च अदालत पाटनले उत्प्रेषण आदेश दिएसँगै सडक विस्तार अलपत्र भएको छ ।
बनेपा-६ स्थित बूडोलमा २०२१ सालको निर्णय बमोजिम सिमाङ्कन भएको सडक सीमा क्षेत्रभन्दा बाहिर गई बिस्तार कार्य हुदाँ स्थानीयको जग्गामा समेत असर पर्ने गरी कल्भर्ट निर्माण तथा कल्भर्ट बहने ढलको बहाब समेत परिर्वतन गरी निर्माण कार्य भएको भन्दै उच्च अदालत पाटनमा रिट परेको थियो ।
उक्त कार्य नगर्न र नगराउन हुन उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) (क) बमोजिम विपक्षी आयोजनाको नाममा उच्च अदालत पाटनले उत्प्रेषण आदेश जारी गरेको थियो । सोही आदेशमा लिखित जवाफपछि निवेदनलाई अग्राधिकार दिन समेत अदालतले आदेश जारी गरेको छ । निवेदनको सुनुवाईमा पेशी स्थगन गर्न नपाउने कुराको दुवै पक्षलाई जानकारी दिई नियमानुसार पेश गर्नेका लागि समेत अदालतले आदेश जारी गरेको हो ।
अदालतको उक्त आदेशपश्चात विस्तार कार्यमा अलपत्र देखिएको छ । कल्भर्ट निर्माणका लागि सडकलाई डाईभर्सन गरेपछि सो सडक हुँदै ओहोर–दोहोर गर्ने यात्रुहरुले वर्षामा सडक हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने सास्ती खेप्दै आएका छन् । आयोजना ३ वर्षभित्र पूरा हुने गरी ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा उक्त खण्ड विस्तार ठेक्का लामा कन्स्ट्रक्सन कम्पनी प्रा.लिले पाएको छ ।



















