
अमृत ओझा, क्वालालम्पुर (मलेसिया) । विदेशी भूमिमा सपना बोक्दै पुगेका एक नेपाली युवा अब कहिल्यै घर फर्किने छैनन्। बर्दिया बासगढी नगरपालिका–९ माछागड, लुम्बिनी प्रदेशका ३० वर्षीय मिलन खत्री (खुबबहादुर खत्री) को मलेसियाको क्वालालम्पुरमा निधन भएको छ।
गत जुन १० तारिख, बेलुकी करिब ७:३० बजे खत्री क्लिनिकबाट औषधि लिएर कोठातर्फ फर्किरहेका थिए। बाटोमै अचानक ढलेका खत्रीको त्यहीँ मृत्यु भएको हो। उनका परिवारका अनुसार, सोही दिन दिउँसो ३ बजेदेखि छाती दुखेको बताउँदै उनी उपचारका लागि निस्केका थिए। प्रारम्भिक अनुमानमा, मुटु सम्बन्धी समस्याका कारण उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ।
करिब १० वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका खत्री पछिल्ला दुई वर्षदेखि कम्पनी छोडेर अवैधानिक रूपमा क्वालालम्पुर नजिकका विभिन्न स्थानहरूमा सुरक्षा गार्डको काम गर्दै आएका थिए।
उनको निधनपछि शव स्वदेश पठाउने प्रक्रिया निकै जटिल भयो। अवैधानिक रूपमा बस्दै आएका कारण कागजी प्रक्रिया झन् कठिन बनेको थियो। तर नेपाली दूतावास, अमृत ओझा, मनोज कार्की, चन्द्र कार्की लगायत स्थानीय नेपालीहरुको सहयोगमा अन्ततः उनको शव नेपाल पठाइएको छ।
अन्तिम पटक घरको बाटो हिँड्ने सपना बोकेका खत्री अब बाकसमा फर्किंएका छन्। वैदेशिक रोजगारीको भोगाइले फेरि एक परिवारलाई पीडा र शोकको छायाँमा पारेको छ।