मंगलबार, बैशाख ०८, २०८३
सुभाष एनआरएनए जापानको अध्यक्षमा निर्वाचित

टोकियो । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानको नयाँ कार्यकालका लागि सम्पन्न निर्वाचनबाट सुभाष लामिछाने अध्यक्षमा निर्वाचित भएका छन्। आइतबार सार्वजनिक गरिएको निर्वाचन परिणामअनुसार लामिछानेले ७ हजार १ सय ५२ मत प्राप्त विजय हासिल गरे । उनले प्रतिस्पर्धी सिद्धार्थ श्रेष्ठलाई १ हजार ९ सय ५९ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।  श्रेष्ठले ५ हजार १ सय ९३ मत पाएका थिए।

वरिष्ठ उपाध्यक्ष पदमा टिकाराम खरेल विजयी भएका छन्। उनले ६ हजार ४ सय १८ मत प्राप्त गर्दै प्रतिस्पर्धी कृष्ण गैरे शर्मालाई ४ सय ९१ मतले पछि पारे। शर्माले ५ हजार ९ सय २७ मत पाएका थिए।

महासचिवमा श्याम कुमार श्रेष्ठ (श्याम शितल) निर्वाचित भएका छन्। उनले आफ्ना प्रतिस्पर्धी विश्वास गौतम (खगराज गौतम)लाई ४ सय २३ मतले पराजित गर्दै ६ हजार ३ सय ८४ मत प्राप्त गरे। गौतमले ५ हजार ९ सय ६१ मत पाए।

उपाध्यक्षमा मुक्तिराम खनाल (बिनोद), दिलिप कँडेल र दीपक सुनार निर्वाचित भएका छन्। क्षेत्रीय उपाध्यक्ष पदमा विष्णु प्रसाद सुवेदी (विश्व) विजयी भएका छन्। सचिव (खुला तर्फ) पदमा नेत्र पाण्डे र दिल्लि प्रसाद सापकोटा निर्वाचित भएका छन् भने क्षेत्रीय सचिवमा सागर कार्कीले जित हात पारेका छन्। कोषाध्यक्ष पदमा मुक्तिराज रेग्मी विजयी भएका छन्। क्षेत्रीय सह–कोषाध्यक्षमा सन्दीप जिसी र खुला सह–कोषाध्यक्षमा राम कँडेल निर्वाचित भएका छन्।

त्यसैगरी, युवा संयोजक पदमा दीपक बुर्जा मगर विजयी भएका छन्। निर्वाचन समितिका अनुसार कुल मतदातामध्ये उच्च सङ्ख्यामा सहभागिता रहेको यो निर्वाचनमा प्रतिस्पर्धा व्यवस्थित रूपमा सम्पन्न भएको थियो।

नवनिर्वाचित अध्यक्ष सुभाष लामिछानेले निर्वाचनपछिको प्रतिक्रियामा संस्थालाई थप सक्रिय, पारदर्शी र उत्तरदायी बनाउँदै प्रवासी नेपालीहरूको हक–हितको संरक्षणमा कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गरेका छन्। यसअघि एनआरएनए अध्यक्ष नवीन निउरे रहेका थिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय