काभ्रे । नेपालले लिपुलेक हुँदै भारत–चीनबीच भएको सीमा व्यापार सम्झौताप्रति औपचारिक आपत्ति जनाएको छ । परराष्ट्र मन्त्रालयले यसबारे प्रवक्ताद्वारा जारी तीन बुँदे प्रतिक्रिया आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ ।
मन्त्रालयका अनुसार नेपालको संविधानमा समावेश आधिकारिक नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी महाकाली नदीको पूर्वतर्फ पर्ने नेपालको अभिन्न भूभागका रूपमा स्पष्ट उल्लेख गरिएको छ ।
नेपाल सरकारले भारतलाई यस क्षेत्रमा सडक विस्तार वा सीमा व्यापारजस्ता कुनै गतिविधि नगर्न आग्रह गर्दै आएको र सो क्षेत्र नेपाली भूमि भएको विषय चीनलाई समेत जानकारी गराइसकेको प्रवक्ताले बताएका छन् ।
साथै, नेपालले भारतसँगको ऐतिहासिक मित्रता र घनिष्ठ सम्बन्धको मर्मअनुसार तथ्य, नक्सा र प्रमाणका आधारमा दुवै देशबीचको सीमा समस्या कूटनीतिक माध्यममार्फत समाधान गर्ने प्रतिबद्धता दोहोर्याएको वक्तव्यमा उल्लेख गरिएको छ ।



















