काभ्रे । चिनियाँ राष्ट्रपति सी चिनफिङले लिपुलेक विवाद नेपाल र भारतबीचको विषय भएको र दुई देशले आपसी छलफलमार्फत समाधान गर्नुपर्ने बताएका छन्।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार (भदौ १४) तियानजिन अतिथिगृहमा भएको दुईपक्षीय भेटमा राष्ट्रपति सीले नेपालको दाबीलाई आफूहरूले कमी नमान्ने स्पष्ट पारेका हुन्।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार, प्रधानमन्त्री ओलीले भारत र चीनबीच नेपाललाई जानकारी नदिई लिपुलेकलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने सहमति भएकोमा आपत्ति जनाएका थिए। जवाफमा राष्ट्रपति सीले चीनले सीमा विवादमा कुनै पक्ष नलिने तर नेपालको दाबीबारे कुनै सम्झौता वा कमजोरी नगर्ने बताएका थिए।
उनका शब्दमा, “हाम्रो परम्परागत रूपमा नाका प्रयोग हुँदै आएको हो। तर तपाईंहरूको सीमा विवाद नेपाल–भारतबीचको विषय हो। त्यसमा हामी पक्ष बन्न चाहँदैनौँ। नेपालको दाबीमा कुनै कमी छैन भन्ने कुरा तपाईंहरूले बुझिदिनुहोला।”
भदौ ३ गते भारत र चीनबीच भारत नियन्त्रित नेपाली भूमि लिपुलेकमार्ग हुँदै व्यापार पुनः सुरु गर्ने सहमति भएको थियो। सो सहमतिपछि नेपालमा भारतविरुद्ध व्यापक आलोचना भइरहेको छ।



















