मंगलबार, बैशाख ०८, २०८३
उपप्रधानमन्त्री पौडेलले सरकार लगानीमैत्री वातावरण बनाउन प्रतिबद्ध रहेको बताएका छन्

काभ्रे ।  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकार सक्रिय रूपमा काम गरिरहेको बताएका छन्।

ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को ४७ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले निजी क्षेत्रको आत्मविश्वास बढाउँदै पर्यटन प्रवर्द्धन र राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

उनका अनुसार सरकारले जिम्मेवारी सम्हालेको समयमा अर्थतन्त्रका सबै सूचक नकारात्मक अवस्थामा भए पनि अहिले ती सूचकहरू सकारात्मक दिशामा उन्मुख भएका छन्।

भ्याट छुटबारे बोल्दै उपप्रधानमन्त्री पौडेलले सरकार त्यस अवस्थामा नरहेको स्पष्ट पारे। उनले राजस्वबाट साधारण खर्च धान्नै कठिन रहेको भन्दै व्यवसाय प्रवर्द्धनका कार्यक्रम ल्याउन आग्रह गरे र सरकार सहजीकरणका लागि तयार रहेको बताए।

उनले राजनीतिक स्थायित्व सुनिश्चित हुँदै मुलुक स्थिरताको बाटोमा अघि बढिरहेको उल्लेख गर्दै भने, “अहिलेको सरकार बलियो छ, २०८४ सालको निर्वाचनसम्म निरन्तर अघि बढ्छ र नीतिगत स्थायित्व दिन्छ। सरकार नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा विशेष ध्यान दिइरहेको छ।”

सोही अवसरमा ‘टान’का अध्यक्ष सागर पाण्डेले पर्यटन क्षेत्रको दिगो विकासका लागि नीतिगत सुधार र पूर्वाधार विकासमा सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा पर्वतीय पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने विभिन्न सङ्घसंस्था र सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

सिफारिस

ताजा समाचार

लोकप्रिय