काभ्रे । चीनको थियानजिनमा सम्पन्न शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस शिखर सम्मेलनपछि प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ प्रस्थान गर्नुभएको छ ।
बेइजिङमा उहाँले चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट गर्ने कार्यक्रम रहेको छ । साथै, उपराष्ट्रपति चङ्गले आयोजना गर्ने रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।
यसअघि थियानजिनमा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गरिसक्नुभएको छ ।
भ्रमणको अन्तिम दिन अर्थात् भदौ १८ गते बेइजिङमा चीन सरकारले आयोजना गर्ने फासिवादविरुद्धको विश्वयुद्ध तथा जापानी अतिक्रमणविरुद्धको प्रतिरोधी युद्धमा विजय प्राप्तिको ८०औँ वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।
कार्यक्रममा सहभागी भइसकेपछि प्रतिनिधिमण्डल सोही दिन नेपाल फर्किनेछ ।



















