काभ्रे । कार्यवाहक प्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र विश्व बैंकका दक्षिण एसियाका उपाध्यक्ष जोहानेस जुटबीच आज शहरी विकास मन्त्रालयमा भेटवार्ता भएको छ।
भेटमा बृहत्तर लुम्बिनी क्षेत्र विकास आयोजना, काठमाडौं उपत्यकामा सहरी पूर्वाधार निर्माण, फोहर व्यवस्थापन तथा नदी स्वच्छतासम्बन्धी नयाँ परियोजनामा सहकार्य गर्नेबारे छलफल भएको मन्त्रालयले जनाएको छ।
उपाध्यक्ष जुटले लुम्बिनी र काठमाडौंमा केन्द्रित भएर योजना अघि बढाउन लागेको निर्णयलाई सकारात्मक मान्दै विश्व बैंक सहकार्यका लागि तयार रहेको स्पष्ट पारे।
यस अवसरमा विश्व बैंकले लुम्बिनी र काठमाडौं उपत्यकामा शहरी पूर्वाधार, वातावरणीय प्रदूषण न्यूनीकरण तथा वायु र नदी स्वच्छताका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। भेटवार्ताले नेपाल सरकार र विश्व बैंकबीचको साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।























