काभ्रे । एमालेको दोस्रो विधान महाधिवेशनमा प्रतिवेदन प्रस्तुत सुरु
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा प्रतिवेदन प्रस्तुत गर्ने क्रम सुरु भएको छ। उद्घाटन सत्रलगत्तै अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट उपमहासचिव प्रदीपकुमार ज्ञवालीले राजनीतिक प्रतिवेदन पेस गरेका छन्।
राजनीतिक प्रतिवेदनपछि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्। यस्तै, केन्द्रीय अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषद्का अध्यक्षहरूले पनि आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।
स्थायी कमिटी सदस्य कर्ण थापाले फरक मतको दस्तावेज प्रस्तुत गर्नेछन्। त्यसपछि प्रस्तुत प्रतिवेदनहरूमा १० समूहमा विभाजन गरी छलफल गरिने छ।
गोदावरीमा जारी तीनदिने महाधिवेशनमा २,०२६ प्रतिनिधि र ३१५ आयोजक गरी २,३४१ जना सहभागी भएका छन्।



















