मंगलबार, बैशाख ०८, २०८३
अभिव्यक्ति स्वतन्त्रताको पक्षधर कांग्रेस, सामाजिक सञ्जाल बन्दबारे औपचारिक धारणा आउँदै

काभ्रे । सत्ता साझेदार नेपाली कांग्रेसका नेताहरूले सरकारले गरेको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति गम्भीर असन्तुष्टि जनाएका छन्।

आइतबार बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको कार्यसम्पादन समितिको बैठकमा नेताहरूले सामाजिक सञ्जाल बन्द गर्ने कदम अस्विकार्य भएको बताए। सहमहामन्त्री जीवन परियारका अनुसार, यसबारे सरकारसँग छलफल गर्ने निर्णय भएको छ।

बैठकमा सहभागी पर्यटनमन्त्री बद्री पाण्डेले चीनमा रहँदा निर्णय भएको कारण सरकारी धारणा नराखेको स्पष्ट पारे।

महामन्त्री गगन थापाले सामाजिक सञ्जाल बन्द गर्नु अनुपयुक्त भएको भन्दै आपत्ति जनाए। उनले यस्ता संवेदनशील विषयमा सरकारसँगै पार्टीभित्र छलफल हुनुपर्नेमा नभएको उल्लेख गरे। अन्य नेताहरूले पनि थापाको समर्थन गर्दै सामाजिक सञ्जाल नियन्त्रण नभई नियमन गर्नुपर्नेमा जोड दिए।

नेताहरूले “सामाजिक सञ्जाललाई झ्याप्प बन्द गर्ने कुरा स्वीकार्य छैन, लाखौं नागरिक यसैबाट जानकारी, व्यापार र आम्दानीमा निर्भर छन्” भन्ने धारणा राखे।

बैठकमा नेताहरूले अभिव्यक्ति स्वतन्त्रताको पक्षधर दल कांग्रेस भएकाले पार्टीले औपचारिक धारणा सार्वजनिक गर्नुपर्ने सुझाव नेतृत्वलाई दिएका थिए। अदालतले सामाजिक सञ्जाललाई नियमन गर्न कानुन बनाउन भनेको आदेशलाई सरकारले गलत व्याख्या गरेको उनीहरूको भनाइ छ।

सरकारले भदौ १९ गते सामाजिक सञ्जाल सूचीकृत हुन गरेको आह्वान नटेरेपछि बन्द गर्ने निर्णय गरेको थियो।

सिफारिस

ताजा समाचार

लोकप्रिय