काभ्रे । नवनियुक्त प्रधानमन्त्री सुशिला कार्की आज पदभार ग्रहण गर्दै हुनुहुन्छ।
सिंहदरवारस्थित गृह मन्त्रालयका लागि निर्माण गरिएको नयाँ भवनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका रूपमा तयारी गरिएको छ। त्यही भवनमा प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ।
प्रधानमन्त्री कार्कीले आजै अन्तरिम सरकारका मन्त्रीहरू चयन गर्ने अपेक्षा गरिएको छ। यस प्रक्रियामा भ्रष्टाचारविरुद्ध सक्रिय जेन जेड आन्दोलनको भूमिकालाई महत्त्वपूर्ण मानिएको छ। नयाँ मन्त्री छनोटका लागि जेन जेडका युवाहरूले डिस्कर्डमार्फत छलफल र मतदान गरिरहेका छन्।
देश–विदेशमा रहेका युवाहरूले सम्भावित मन्त्रीहरूको विगतका आचरण र भविष्यमा गर्न सक्ने भूमिकाबारे समीक्षा गर्दै मतदान गरिरहेका छन्। यसअघि पनि प्रधानमन्त्री चयन गर्दा युवाहरूले सोही प्लेटफर्ममार्फत मतदान गरेका थिए।
त्यसै क्रममा सबैभन्दा बढी मत प्राप्त गर्दै सुशिला कार्की प्रधानमन्त्रीमा चयन भएकी थिइन्। भ्रष्टाचारविरोधी जेन जेड आन्दोलन पनि डिस्कर्डमार्फतै आह्वान गरी सफलतापूर्वक सञ्चालन गरिएको हो।



















