काभ्रे । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफू सत्ताको रस्वादन गर्न नआएको बताउनु भएको छ। सिंहदरबारमा आइतबार पदभार ग्रहण गरेपछि उच्च पदस्थ कर्मचारीसँगको छलफलमा कार्कीले ६ महिनामै चुनाव गरेर आफू बिदा हुने स्पष्ट पार्नुभयो।
प्रधानमन्त्री कार्कीले भन्नुभयो, “म रहरले आएको होइन, सडकबाट ‘सुशीला कार्कीलाई जिम्मा देऊ’ भन्ने आवाज आएपछि विवश भएर जिम्मेवारी ग्रहण गरेको हुँ। मेरो उमेर र उद्देश्य सत्ताको रस्वादन गर्नु होइन। केवल ६ महिना मात्र बस्नेछु। त्यसपछि कुनै हालतमा नबस्ने, काम गरेर जिम्मेवारी नयाँ सांसद/मन्त्रीलाई सुम्पने अठोट गरेको छु। यसमा सबैको साथ आवश्यक छ।”
सर्वोच्च अदालत, सिंहदरबारसहितका महत्त्वपूर्ण संस्थामाथि भएको आक्रमण र आगजनीबाट भौतिक क्षति पुगेको र फाइल तथा विवरण नष्ट भई हाल शून्यमा पुगेको घटनामा चिन्ता व्यक्त गर्दै, प्रधानमन्त्री कार्कीले दोषीहरूविरुद्ध अनुसन्धान गरी कारवाही हुने प्रतिबद्धता व्यक्त गर्नुभयो।



















