काभ्रे । जेनजी आन्दोलनका क्रममा सिंहदरबारभित्रका मन्त्रालय र निकायमा भएको आगजनी तथा तोडफोडपछि आजदेखि कर्मचारीहरू कार्यालय फर्किए पनि कामकाजमा स्पष्टता देखिएको छैन।
कार्यालय समयमा कर्मचारीको उपस्थिति देखिए पनि के काम गर्ने, कहाँ बसेर अघि बढ्ने भन्नेबारे प्रष्ट निर्देशन नआएकाले अन्यौलता कायम छ। केहीले हाजिर गरेर फर्किने गरेका छन् भने कतिपय मन्त्रालय परिसरमै समूह बनाएर बस्ने गरेका छन्।
ऊर्जा, गृह, सङ्घीय मामिला, सामान्य प्रशासन र सिँचाइ मन्त्रालयका कर्मचारीहरूले अस्थायी रजिस्टरमार्फत हाजिरी गरेका छन्। तर, विद्युत् र इन्टरनेट अवरुद्ध भएकाले काम सुरु गर्न नसकिएको मन्त्रालयका सूचना अधिकारी राजु महर्जनले जानकारी दिए।
कृषि मन्त्रालयमा क्षति तुलनात्मक रूपमा कम भए पनि ‘के गर्ने भन्नेबारे निर्देशन नआएकाले केवल क्षतिको विवरण संकलन मात्र भइरहेको’ सहसचिव डा. हरिबहादुर केसीले बताए। भौतिक पूर्वाधार मन्त्रालयमा यातायात सञ्चालनबारे छलफल भए पनि नियमित सेवा अघि बढ्न सकेको छैन। अर्थ मन्त्रालयले भने बजेट र खर्च व्यवस्थापनबारे सक्रियता देखाएको छ।
स्वास्थ्य मन्त्रालय पूर्ण रूपमा क्षतिग्रस्त भएकाले कर्मचारीले हातैले हाजिरी गरिरहेका छन्। मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट काम थाल्ने तयारी गरेको सचिव डा. विकास देवकोटाले बताए।
यसबीच राष्ट्रिय योजना आयोगले देशभर भएको क्षतिको मूल्याङ्कन र लागत निर्धारणका लागि ‘पोस्ट डिजास्टर निड्स एसिसमेन्ट’ गर्ने आन्तरिक तयारी थालेको छ।
यद्यपि, पुनर्निर्माण, बजेट व्यवस्थापन र प्रशासनिक सेवा पुनःसञ्चालनबारे अझै प्रष्ट कार्ययोजना आउन सकेको छैन। विशेषज्ञहरूका अनुसार स्पष्ट प्राथमिकता र प्रभावकारी सङ्कट व्यवस्थापन रणनीति बिना प्रशासनिक संयन्त्र पुनः गतिमा ल्याउन कठिन हुने देखिन्छ।



















