बुधबार, फाल्गुण २७, २०८२
उर्जामन्त्री घिसिङले घोषणा गरे– पुनःनिर्माणका लागि कोष स्थापना हुने

काभ्रे । नवनियुक्त ऊर्जा तथा जलस्रोत मन्त्री कुलमान घिसिङले सोमबार पदभार ग्रहण गर्नुभयो। पदभार ग्रहणपछि उहाँले विशेष परिस्थितिमा बनेको अन्तरिम सरकारले मुलुकलाई सामान्य अवस्थामा ल्याउने जिम्मेवारी वहन गर्नुपर्ने उल्लेख गर्दै समृद्धि र राजनीतिक स्थायित्वका चुनौतीलाई सामना गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो।

ऊर्जासँगै थप दुई मन्त्रालयको जिम्मेवारी पाउनुभएका मन्त्री घिसिङले अब निर्माणको अभियान सुरु हुने भन्दै लोकतान्त्रिक आन्दोलन तथा हालैको जेनजी प्रदर्शनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। साथै उहाँले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो।

पुनःनिर्माणसँगै तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनु सरकारको दायित्व रहेको स्मरण गर्दै मन्त्री घिसिङले द्रुत गतिमा काम गर्ने बताउनुभयो। उहाँले उज्यालो नेपाल अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो।

“नेपाल अहिले आर्थिक र राजनीतिक संकटमा छ। यस्तो बेला व्यवसायी तथा देशभित्र–बाहिर रहेका सबै नागरिकले सहयोग गर्नुपर्छ,” उहाँले भन्नुभयो। उहाँले डेडिकेटेड र ट्रङ्कलाइन सेवाको वक्यौता तत्काल उठाउन निर्देशन दिएको जानकारी समेत दिनुभयो।

यस क्रममा मन्त्री घिसिङले पुनःनिर्माणका लागि कोष स्थापना गरी सबै क्षेत्रबाट सहयोग लिने घोषणा गर्नुभयो।

शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि उहाँले जेनजी आन्दोलनमा घाइतेहरुसँग भेट गर्नुभयो र त्यसपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभयो। मन्त्री घिसिङले जेनजी प्रदर्शनका मागलाई सार्थक बनाउन आफू निरन्तर प्रयासरत रहने प्रतिबद्धता जनाउनुभयो।

सिफारिस

ताजा समाचार

लोकप्रिय