काभ्रे । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यस वर्षको दसैंका लागि अग्रिम टिकट बुकिङ सडकको अवस्थालाई ध्यानमा राखेर मात्र खुला गर्ने जनाएको छ।
आज यातायात व्यवस्था विभागमा भएको छलफलमा मुलुकका विभिन्न स्थानमा सडक पूर्ण रूपमा सञ्चालन हुन नसक्दा सवारीसाधन समयमै उपत्यकामा फर्किन नसकेको कारण अग्रिम बुकिङ तत्कालै सुरु गर्न नसकिएको महासङ्घका अध्यक्ष विजयबहादुर स्वारले बताए।
“सडक सुधार नभएसम्म अग्रिम टिकट खुलाउन सकिँदैन,” स्वारले स्पष्ट पारे, “तर तत्काल टिकट लिन चाहने यात्रुहरूलाई रोकिएको छैन, दुई–तीन दिन अघिदेखि बसपार्कमा गएर टिकट लिन सकिन्छ।”
यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा उपत्यकाबाट बाहिरिने यात्रु सहज र सुरक्षित पुग्न सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए। उनले गत वर्ष असोजमा आएको बाढी–पहिराले सडक अवरुद्ध भए पनि यस पटक अवस्था केही सहज रहेको उल्लेख गरे।
पोखरेलले यस वर्ष अनलाइन टिकटलाई प्राथमिकता दिन, पारदर्शी भाडादर कायम गर्न, सवारी साधन मर्मतपश्चात मात्र चलाउन र क्षमताभन्दा बढी यात्रु नबोक्न व्यवसायीलाई आग्रह गरे।
प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले यात्रु सुरक्षित रूपमा गन्तव्यमा पुग्ने गरी आवश्यक सुरक्षा व्यवस्था मिलाइने प्रतिबद्धता जनाए।



















