काभ्रे । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशलाई राजनीतिक अस्थिरता र अन्योलताबाट जोगाउन राजनीतिक दलहरूले जिम्मेवारीपूर्वक र मिहिनेतसाथ काम गर्नुपर्नेमा जोड दिनुभएको छ।
संविधान दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले देशको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनता अटल राख्न सबै पक्षले परिस्थितिको सूक्ष्म विश्लेषण गरी विवेकपूर्ण ढंगले अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो।
भण्डारीले वर्तमान परिस्थितिमा दलहरूबीचको आपसी प्रतिस्पर्धा, मनोमालिन्य र तिक्ततालाई थाँती राख्दै संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन एकढिक्का हुनुपर्ने आह्वान गर्नुभयो।



















