
काभ्रे । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जिल्लाको विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
यस पहलमार्फत काभ्रे जिल्ला भएर बाहिर जाने यात्रुहरूको सहज आवतजावत सुनिश्चित गर्दै सवारी चाप व्यवस्थापन र दुर्घटना न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनिल धाँजुका अनुसार काभ्रेको बनेपा, धुलिखेल र नमोबुद्ध नगरपालिका अन्तर्गतको राजमार्गमा विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा आएको हो ।
स्थापना हुने यी कक्षहरूमा ट्राफिक प्रहरी र जनपद प्रहरीको संयुक्त टोली परिचालित हुनेछ। टोलीले तोकिएको भाडादरभन्दा बढी लिने, दुईजना चालक नभएको, क्षमताभन्दा बढी यात्रु राख्ने र टिकट कालोबजारी गर्नेजस्ता अनियमितता जाँच्नेछ ।
यात्रु सहायता कक्षले प्रत्येक टिकट काउन्टरमा भाडादर टाँस्न लगाउने तथा यात्रुहरूको गन्तव्यसम्म सुरक्षित र व्यवस्थित यात्रा सुनिश्चित गर्न निगरानी गर्ने काभ्रे ट्राफिक प्रहरीले जनाएको छ। यसरी यात्रुको सुरक्षामा वृद्धि गर्दै चाडपर्वलाई दुर्घटनारहित बनाउने उद्देश्य राखिएको छ ।