काभ्रे । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक प्रभावका कारण अड्किएका सबै अनुसन्धान फाइल खोल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
शुक्रबार बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को निरीक्षण गर्दै मन्त्री अर्यालले सीआईबी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई कुनै पनि राजनीतिक दबाबमा अनुसन्धान रोक्न नदिने निर्देशन दिएका हुन्।
“विगतमा राजनीतिक कनेक्सनका आधारमा कतिपय फाइल रोकिएका वा बिथोलिएका थिए। अब त्यस्तो हुँदैन। सुशासन बिना शान्ति–सुरक्षा सम्भव छैन, र शान्ति–सुरक्षा बिना चुनाव पनि गराउन सकिँदैन,” मन्त्री अर्यालले भने।
निरीक्षणका क्रममा उनले सीआईबीमा भइरहेको अनुसन्धान र मुद्दाबारे जानकारी लिएर अनुसन्धानलाई थप तीव्रता दिन निर्देशन दिएका थिए। प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसमेत उपस्थित कार्यक्रममा उनले अब कुनै पनि प्रभावका कारण अनुसन्धानमा अवरोध सह्य नहुने बताए।
गृहमन्त्री अर्यालले यसअघिका सरकारले सुशासन सुनिश्चित गर्न नसकेको कारण जनप्रतिनिधिहरूको भूमिका कमजोर बनेको उल्लेख गर्दै, आर्थिक अपराध, वित्तीय अनियमितता र भ्रष्टाचार सम्बन्धी मुद्दामा देखिएका अवरोध हटाइने स्पष्ट पारे।
“सुशासन पहिलो सर्त हो। त्यसका लागि अवरोध हटाउँदै अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्छ,” उनले सीआईबी निरीक्षणपछि प्रतिक्रिया दिएका थिए।



















