सोमबार, चैत्र १६, २०८२
दशैँ–तिहारको सिजनमै जंगल सफारी नखुल्दा शुक्लाफाँटा आसपासका होमस्टे संचालक निराश

काठमाडौँ । भीमदत्त नगरपालिका–१४ नयाँगाउँका पर्शुराम राना शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकलाई जंगल सफारी गराउने गर्छन्। रानाथारू होमस्टेका सञ्चालक समेत रहेका उनी पछिल्ला दुई वर्षदेखि सिजनमा पर्यटक नआएपछि निराश छन्।

रानाका अनुसार विगतमा दसैँ–तिहारको समयमा शुक्लाफाँटा घुम्न आउने पर्यटकको चाप उच्च हुने गर्थ्यो र होमस्टे भरिभराउ रहने गर्दथ्यो ।

तर पछिल्ला दुई वर्षयता सिजनमै जंगल सफारी बन्द हुने गरेकाले होमस्टे सुनसान बनेका छन् । “दसैँ–तिहारमा मात्र रु एक लाख भन्दा बढी आम्दानी हुन्थ्यो,” रानाले भने, “तर अहिले फाटफुट भारतीय पर्यटक बाहेक अरू छैनन्।”

निकुञ्ज प्रशासनले हरेक वर्ष असार १ देखि असोज १ सम्म बर्सातको समयमा जंगल सफारी बन्द गर्ने गर्छ। तर बाटो तथा पुल मर्मत ढिलाइका कारण पछिल्ला वर्षहरूमा सफारी समयमै खुल्न सकेको छैन। निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले वर्षाले बाटो र पुल बिग्रिएका कारण सफारी ढिलाइ भएको र हाल भने पर्यटकका लागि जंगल सफारी पुनः खुला गरिएको जानकारी दिए।

होमस्टे सञ्चालकहरूको भनाइमा सिजनमा पर्यटक नआएपछि आयमा मात्र कमी भएको छैन, रानाथारू समुदायको संस्कृति, खानपान र परम्पराको प्रचार–प्रसारमा पनि प्रभाव पर्न थालेको छ। रानाथारू होमस्टे सञ्चालक केशमती रानाले भनिन्, “विगतमा अग्रिम बुकिङ हुने होमस्टेमा अहिले एक–दुई जना भारतीय पर्यटक मात्र छन्। निकुञ्ज ढिलो खुल्दा यस वर्ष सिजन गुम्यो।”

तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिंगा, चराचुरंगी, विविध वन्यजन्तु र दुर्लभ वनस्पतिका लागि परिचित छ। निकुञ्जमा हाल दुई हजार ३२३ भन्दा धेरै बाह्रसिंगा भएको तथ्यांक छ, जसका कारण यो क्षेत्र पर्यटकका लागि मुख्य आकर्षण मानिन्छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय