मंगलबार, बैशाख ०८, २०८३
देशभर एमालेको आज जनसभा, मंसिर ६ मा काठमाडौँमा विशाल सभा हुने

काठमाडौँ । नेकपा एमालेले आज देशैभर विभिन्न स्थानमा जनसभा आयोजना गर्दैछ ।

प्रतिगामी षडयन्त्रका विरुद्ध सञ्चालन भइरहेको जनपरिचालन अभियानअन्तर्गत अधिकांश जिल्ला सदरमुकाम तथा ठूला शहरहरूमा जनसभा गर्न लागिएको हो।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जनसभालाई सफल बनाउन केन्द्रीय सदस्यहरू जिल्लामा खटिइसकेका छन्। उनले भने, “पार्टीले सबै जिल्ला इञ्चार्जलाई आफ्नो जिम्मेवारी क्षेत्रमा परिचालन गरेको छ। आजको सभाले एमाले देशभर लोकप्रिय शक्ति हो भन्ने सन्देश स्पष्ट रूपले दिनेछ।”

गौतमका अनुसार जनपरिचालन कार्यक्रम चार चरणमा सञ्चालन भइरहेको छ। पहिलो चरणमा कात्तिक २२ गते देशभर वडा भेला सम्पन्न गरिएको थियो। त्यसपछि २५ गते अधिकांश पालिकामा जनप्रदर्शन तथा र्‍याली गरिएको थियो। तेस्रो चरण अन्तर्गत आज देशभरका जिल्लामा जनसभा हुँदैछ। अभियानको समापन मंसिर ६ गते काठमाडौंमा आयोजना हुने विशाल जनसभासँगै हुनेछ।

आजका कार्यक्रमअनुसार महासचिव शंकर पोखरेल नेपालगञ्जमा, उपमहासचिव प्रदीप ज्ञवाली गुल्मीमा, यस्तै उपमहासचिव पृथ्वी सुब्बा गुरुङ लमजुङमा आयोजित सभालाई सम्बोधन गर्नेछन्। रुपन्देहीमा सचिव छविलाल विश्वकर्मा र झापाको बिर्तामोडमा सचिव पद्मा अर्यालले सम्बोधन गर्ने तय भएको छ।

त्यसैगरी, कोशीका मुख्यमन्त्री तथा स्थायी समिति सदस्य हिकमत कार्की धनकुटामा आयोजना हुने जनसभामा सम्बोधन गर्नेछन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय