बुधबार, मंसिर ०९, २०८३
काभ्रेमा नसालु पदार्थ खुवाएर लुटपाट गर्ने गिरोहका चार जना पक्राउ

काभ्रे । जिल्लाको बनेपा तथा आसपासका क्षेत्रमा सर्वसाधारणलाई नसालु पदार्थ मिसाइएको खानेकुरा खुवाएर बेहोस बनाई गरगहना, नगद तथा मोबाइल लुटपाट गर्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बुधबार सार्वजनिक गरेको विवरणअनुसार विभिन्न मितिमा भएका श्रृंखलाबद्ध लुटपाटका घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको हो। पक्राउ परेकाहरूलाई अनुसन्धानपछि अभियोजनका लागि जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१ घर भई हाल बनेपा नगरपालिका–५ बस्ने ५० वर्षीया सङ्गीता तामाङ (कार्की), धुलिखेल नगरपालिका–२ घर भई हाल बनेपा–७ बस्ने ३८ वर्षीय बिर्खबहादुर तामाङ, दोलखाको बिगु गाउँपालिका–४ घर भई हाल भक्तपुरको मध्यपुर थिमी–४ बस्ने ४६ वर्षीय नवराज घिमिरे विक र नमोबुद्ध नगरपालिका–२ घर भई हाल बनेपा–७ बस्ने ३२ वर्षीय प्रविन सुनुवार रहेका छन्।

प्रहरीका अनुसार उक्त समूहले सर्वसाधारणलाई खानेकुरा तथा पेय पदार्थमा नसालु पदार्थ मिसाएर खुवाउने र बेहोस भएपछि उनीहरूले लगाएका सुनका गरगहना, साथमा रहेको नगद तथा मोबाइललगायतका सामान लुट्ने गरेको खुलेको छ। लुटिएका सुनका गरगहना विभिन्न सुनचाँदी पसलमा बिक्री गर्ने र स्वरूप परिवर्तन गरेर कारोबार गर्ने गरेको समेत अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

चारवटा लुटपाटका घटनामा संलग्नता

प्रहरीका अनुसार २०८३ जेठ १० गते बनेपा नगरपालिका–४ मा बस्दै आएका ७० वर्षीया हिरामाया जिम्बा र उनका ७४ वर्षीय श्रीमान् हस्तबहादुर जिम्बालाई आफ्नै घरमा दूधमा नसालु पदार्थ मिसाएर खुवाइएको थियो। उनीहरू बेहोस भएपछि घरबाट दुई थान सुनको रिङ र एक थान सुनको तिलहरी लुटिएको थियो।

त्यस्तै, भदौ २३ गते नमोबुद्ध नगरपालिका–११ की ६७ वर्षीया पञ्चमाया तामाङ घरमै बसिरहेका बेला दुई जना महिला पुगेका थिए। उनीहरूले खानेकुरामा नसालु पदार्थ मिसाएर खुवाई बेहोस बनाएपछि कानमा लगाएको सुनको रिङ लुटेर लगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

भदौ २४ गते बनेपा–६ मा बस्दै आएकी ५४ वर्षीया गङ्गा बहादुर गुरुङलाई पनि नसालु पदार्थ मिसाइएको खानेकुरा खुवाएर बेहोस बनाई ८ हजार रुपैयाँ नगद र चारवटा राडी लुटिएको थियो। बेहोस अवस्थामा फेला परेकी गुरुङको शिर मेमोरियल अस्पतालको आईसीयूमा चार दिन उपचार गरिएको थियो।

यसैगरी, भदौ २८ गते बनेपा–३ मा बस्दै आएका ५१ वर्षीय हेमबहादुर बस्नेतलाई नसालु पदार्थ मिसाइएको खानेकुरा खुवाएर बेहोस बनाई सुनको सिक्री, औँठी, बाला र मोबाइल लुटिएको प्रहरीले जनाएको छ।

चोरीको सुन सुनचाँदी पसलमा बिक्री

प्रहरीको अनुसन्धानअनुसार गङ्गा गुरुङ र हिरामाया जिम्बाको साथबाट लुटिएका गरगहना भक्तपुरको मध्यपुर थिमी–४ चारदोबाटोस्थित जय शिवशक्ति सुनचाँदी ज्वेलर्सका सञ्चालक नवराज घिमिरे विकलाई बिना बिल बिक्री गरिएको थियो।

त्यस्तै, पञ्चमाया तामाङको साथबाट लुटिएको सुनको गरगहना प्रविन सुनुवारले धुलिखेल नगरपालिका–५ स्थित गणेश सुनचाँदी पसलका सञ्चालकलाई बिना रसिद बिक्री गरेको खुलेको प्रहरीले जनाएको छ।

सुनजस्तो देखिने धातु र अन्य सामान बरामद

अनुसन्धानका क्रममा प्रहरीले सङ्गीता तामाङको साथ तथा कोठाबाट तीन ग्राम सेतो धुलो पदार्थ, दुई थान कालो रङका कीप्याड मोबाइल, एक थान भिभो मोबाइल, राडी, कुर्थी, सल, ज्याकेट र एक जोर जुत्तालगायतका सामान बरामद गरेको छ।

त्यस्तै, नवराज घिमिरे विकको सुन पसलबाट स्वरूप परिवर्तन गरी ढिक्का बनाइएको सुनजस्तो देखिने धातुका चार टुक्रा बरामद गरिएको छ। ती टुक्राको तौल क्रमशः १२.२, ४२.७, २६.५ र १९.१ लाल रहेको प्रहरीले जनाएको छ।

प्रविन सुनुवारको सुन पसलबाट पनि ११.६८ ग्राम तौलको सुनजस्तो देखिने धातुबाट बनेको एक थान रिङ बरामद भएको छ।

अन्य पीडितलाई प्रहरीमा सम्पर्क गर्न आग्रह

प्रहरीका अनुसार सङ्गीता तामाङ र बिर्खबहादुर तामाङ यसअघि पनि यस्तै प्रकृतिका घटनामा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ। उनीहरू २०८३ भदौ ३१ गते काठमाडौंको तिनचुलीमा भएको नसालु पदार्थ सेवन गराई सुन तथा नगद चोरी गरिएको घटनामा समेत संलग्न रहेको प्रहरीको दाबी छ।

सङ्गीता, बिर्खबहादुर र नवराजविरुद्ध यसअघि पनि चोरी तथा डाँकासम्बन्धी मुद्दा चलेको र अदालतबाट धरौटीमा छुटेको विवरण प्रहरीले सार्वजनिक गरेको छ।

पक्राउ परेका व्यक्तिहरूले अन्य स्थानमा समेत यस्तै प्रकृतिका घटना गराएको हुन सक्ने आशंका गर्दै प्रहरीले पीडितहरूलाई सम्पर्कमा आउन आग्रह गरेको छ।

नसालु पदार्थ खुवाएर बेहोस बनाई गरगहना, नगद तथा अन्य सामान लुटपाटमा परेका तर प्रहरीमा जानकारी नगराएका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय