काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट नेपाल प्रिमियर लिग क्रिकेटको फेन्चाइज टिम चितवन राइनोजको कनेक्टिभिटी पार्टनर बनेको छ । एक कार्यक्रमबिच भायानेटका कमर्सियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठ र चितवन राइनोजका प्रमुख सञ्चालन अधिकृत डा. आशिष खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपालकै ठुलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आगामी १-२७ मङ्सिर (१७ नोभेम्बर देखि १३ डिसेम्बर, २०२५) सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ । राष्ट्रिय खेलाडी कुशल मल्ल चितवन राइनोजका मार्की खेलाडी हुन् ।
भायानेटले स्थापना समयदेखि नै खेलकुदलाई आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा बनाउँदै आएको छ । यसअघि भायानेट फागुनमा सम्पन्न अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनशिप र भदौमा सम्पन्न कर्पोरेट क्रिकेट लिग दुबैको टाइटल स्पोन्सर बनेको थियो । यस्तै, चर्चित फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ लाई ब्रान्ड एम्बेसडर घोषणा गर्दै ‘साम्बा प्याक’ पनि सार्वजनिक गरेको थियो । चितवन राइनोजसँगको यस सहकार्यमार्फत भायानेटले खेलाडीको मनोबल, दर्शकको भावना र देशभरका खेल प्रेमीहरूलाई एकै ठाउँमा जोड्ने सेतुको रूपमा भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ ।



















