काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचित प्रतिनिधिहरूको विवरण अपडेट गर्ने काम अन्तिम चरणमा पुगेको छ।
पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुङ्गेलसहितको समिति प्रतिनिधिहरूको विवरण अद्यावधिक गर्दै आएको जानकारी दिइएको छ।
विभाग प्रमुख अधिकारीका अनुसार, दुई हजार १५४ प्रतिनिधि भूगोल र गैरभूगोल क्षेत्रबाट निर्वाचित हुनेछन् भने १०८ केन्द्रबाट प्रतिनिधि मनोनित हुनेछन्। मनोनितसहित प्रतिनिधिको कुल सङ्ख्या दुई हजार २६२ पुगेको छ।
बन्द सत्रमा प्रतिनिधिबाहेक केन्द्रीय सल्लाहकार परिषद्का ३५१ सदस्य सहभागी हुने भएकाले महाधिवेशनमा प्रतिनिधि र सहभागी गरी कुल दुई हजार ६१३ जना उपस्थित हुनेछन्। पार्टीका अनुसार, सबैका लागि परिचयपत्र यही मङ्सिर २५ गतेभित्र छपाइ सकिने तयारी गरिएको छ।



















