काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनमा जानु अनिवार्य भएको बताएका छन् ।
आज पार्टी केन्द्रीय समितिको बैठकअघि चःमतिस्थित कार्यालयमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै उनले मुलुक कमजोर अवस्थामा रहेको र केही शक्ति यसलाई आफ्नो स्वार्थको लागि प्रयोग गर्न प्रयासरत रहेको बताएका छन् ।
उनले भने, “यस्तो अवस्थामा वैकल्पिक शक्ति एकजुट भएर अघि बढ्नुपर्छ।” लामिछानेले जेनजी विद्रोहका क्रममा ज्यान गुमाएका युवाहरूको बलिदानलाई बिर्सन नहुने र त्यसको सम्मान गर्नुपर्ने बताएका छन् ।
उनले निर्वाचन बिथोल्नका लागि केही शक्ति सक्रिय रहेको दाबी गर्दै भने, “त्यस्तो प्रयास सफल हुन नदिने हामीले काम गर्नेछौं।” उनले यस लडाइँमा आफूहरू कसैप्रति कटाक्ष गर्न चाहँदैनन् भन्ने स्पष्ट पारेका छन्। “हामी हिलो छ्याप्ने पक्षमा छैनौं। हाम्रो उद्देश्य एकजुट भएर अगाडि बढ्नु हो। हस्ताक्षर अभियानमा ४० लाख जनताको सहभागिता हाम्रो साझा शक्ति हो,” उनले थपे।



















