काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफ्नो सेवा सुविधाबाट प्राप्त रकमको प्रयोग गरी मकवानपुरको कैलाश गाउँपालिका–४ का विपन्न चेपाङ दम्पतीलाई नयाँ घर निर्माण गरिदिएका छन्।
मुख्यमन्त्री बानियाँले लालकुमार चेपाङ र सानुमाया चेपाङलाई नवनिर्मित तीन कोठे जस्ताले छाएको घर र शौचालय हस्तान्तरण गरेका हुन्। कैलाश गाउँपालिकाको सिफारिसमा उनले आफ्नो निजी खर्चमा करिब ८ लाख रुपैयाँको लगानीमा यो घर निर्माण गराएका हुन्।
घर हस्तान्तरण समारोहमा मुख्यमन्त्री बानियाँले भने, “मैले आफ्नो निर्वाचन क्षेत्रका कुनै पनि नागरिकलाई गाँस, बास र कपासबाट वञ्चित नहोस् भन्ने उद्देश्यले काम गरिरहेको छु।” उनले चेपाङ दम्पतीलाई बाख्रा पालन गरी आत्मनिर्भर बन्ने सल्लाह दिँदै, तत्कालका लागि नगद २० हजार रुपैयाँ पनि सहयोग गरे।



















