काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित कार्यलाई अझ मजबुत, संस्थागत र व्यापक बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन्।
आज चौथो राष्ट्रिय संवाद उद्घाटन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले नेपालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वानुमानमा आधारित कार्यतर्फ रुपान्तरणको यात्रा सुरु गरेको बताए।
उनले भने, “नेपालले परम्परागत विपद् व्यवस्थापनको दृष्टिकोण परिवर्तन गर्दै जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वानुमानमा आधारित कार्यतर्फ रुपान्तरणको यात्रा शुरु गरिसकेको छ।”
गृहमन्त्री अर्यालका अनुसार, पूर्वानुमानमा आधारित कार्य प्रभावकारी बनाउन तीन कुरा महत्वपूर्ण छन्—जोखिमको स्पष्ट जानकारी, विश्वसनीय पूर्वानुमान र प्रभावमा आधारित पूर्वसूचना प्रणाली। उनले थपे, “पूर्वसूचना जारी भएपछि तत्काल सक्रिय हुने स्पष्ट कार्ययोजना र संकटको बेला ढिलाइ नगरी काम गर्न मद्दत पुर्याउने व्यवस्थित श्रोत साधन आवश्यक छन्।”
गृहमन्त्रीले विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित कार्यलाई अझ मजबुत र संस्थागत बनाउने कुरामा नेपाल सरकार पूर्ण प्रतिवद्ध रहेको बताए।



















