मंगलबार, बैशाख ०८, २०८३
मन्त्रीहरूले प्रमुख दलका कार्यालयमा पुगेर सरकारसमक्ष उठाइएका विषयहरू प्रस्तुत गर्ने प्रतिबद्धता जनाए

काठमाडौं । सरकारका मन्त्रीहरूले प्रमुख राजनीतिक दलका कार्यालयमा पुगेर संवाद गर्ने क्रममा दलका उठाएका विषयहरू सरकारसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

गत भदौ महिनामा भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त राजनीतिक दलका कार्यालयहरूको अवलोकन गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रमुख दलका मागप्रति सरकार गम्भीर रहेको बताएका छन्।

मन्त्री सिन्हा र खरेलले सानेपास्थित नेपाली कांग्रेस, ललितपुरको च्यासलमा रहेको नेकपा (एमाले) र पेरिसडाँडास्थित नेपाली कम्युनिष्ट पार्टीको कार्यालय अवलोकन गर्दै त्यहाँ भएको क्षतिको विवरण लिएका साथै दलका प्रतिनिधिसँग छलफल गरे।

नेकपा कार्यालय पेरिसडाँडामा भएको छलफलपछि मन्त्री सिन्हाले आन्दोलनमा संलग्न अधिकांश कैदीबन्दी पक्राउ परेका र लुटिएका धेरै हतियार बरामद भएको जानकारी दिँदै सङ्गठित अपराधको सम्भावना छैन र चुनावको वातावरण बन्दै गएको विश्वास व्यक्त गरे। उनले राजनीतिक संवादमार्फत निर्वाचनमा जानु बाहेक अन्य विकल्प नभएको बताएका छन्।

मन्त्री सिन्हाले भने, “आन्दोलनका क्रममा दलका भौतिक संरचनामा के कति क्षति भए, कसरी पुनर्निर्माण भइरहेको छ त्यो हेर्न आएका हौँ। दलका पदाधिकारीसँगको छलफलमा निर्वाचन सुरक्षासम्बन्धी विभिन्न प्रश्न उठेका छन्, तर चुनावको विकल्प छैन भन्नेमा विवाद छैन।”

छलफलमा केही सुरक्षा र नेतासँगको विषय पनि उठेका थिए। उनले प्रमुख दलहरूको सम्पर्क तल्लो तहसम्म पुर्याएर चुनावी वातावरण बनाउन आग्रह गरिएको जानकारी दिए।

मन्त्री सिन्हाले भदौ २३ र २४ मा भएका घटनालाई दुर्भाग्यपूर्ण मान्दै भने, “यो अवस्था आउनुमा धेरै आयम छन्। धेरै जनधनको क्षति भयो, यो अस्वभाविक छ। संविधानभन्दा बाहिर गएर काम गर्न सक्दैनौँ। चुनावमा जाऔँ।”

सञ्चारमन्त्री खरेलले भने, “सरकार इमान्दारीकासाथ निर्वाचन गराउन चाहन्छ भन्ने स्पष्ट सन्देश प्रवाह गर्न हामी दलका कार्यालमा पुगेर संवाद गरेका हौँ।” उनले यसबाट सरकारको निर्वाचन प्रतिवद्धता स्पष्ट भएको बताए।

मन्त्री खरेलले यसअघि पहिलो पटक सरकार प्रमुख दलको कार्यालयमा पुगेर निर्वाचनका लागि दबाब दिएको जानकारी दिएका छन्। नेकपाको कार्यालय अवलोकनका क्रममा सो पार्टीका संयोजकले पदाधिकारीका तर्फबाट चुनावको पक्षमा स्पष्ट धारणा राखेको उल्लेख गर्दै, “संसद पुनःस्थापना गर्न हुँदैन, अब चुनावमै जानुपर्छ” भन्ने कुरा आएको बताए।

मन्त्री खरेलले सरकार, राजनीतिक दल र जनता सबैले निर्वाचनको बाटोमा जानुपर्नेमा सहमत भएको बताएका छन्। उनले विश्वास दिलाए, “सरकारले निर्वाचनको वातावरण बनाउँछ, अब निर्धारित मितिमा चुनाव हुनेछ।”

यस अनुगमन टोलीले भोलि बुधबार जनमत पार्टी, राप्रपा र रास्वपा कार्यालयमा जाने कार्यक्रम तय गरेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय