काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले साम्राज्यवाद, नवउदारवाद र पुँजीवादी शोषणका कारण सामाजिक असमानता गहिरिँदै गएको बताएका छन्।
माओत्सेतुङको १३३ औँ जन्मजयन्तीको अवसरमा शुभकामना दिँदै उनले भने, “अवसरवाद, वैचारिक विचलन, आत्मसमर्पण र अराजकतावादका प्रवृत्तिहरू विरुद्ध वैचारिक र राजनीतिक सङ्घर्ष बिना समाजवादी क्रान्ति सफल हुन सक्दैन,” भन्दै माओको विचारको महत्त्वलाई पुनः उजागर गरे। उनले माओको विचारमा स्पष्टता, व्यवहारमा एकता र सङ्घर्षमा दृढता नै माओ दिवस मनाउने वास्तविक अर्थ रहेको बताए।
प्रचण्डले थपे, “आजको विश्वमा साम्राज्यवाद र पुँजीवादी शोषणले सामाजिक असमानता गहिरो बनाउँदैछ, राष्ट्रिय सार्वभौमिकतामाथि हस्तक्षेप बढिरहेको छ र जनताको जीवन संकटग्रस्त बनिरहेको छ। यी सबै समस्यामा माओका विचार, उहाँको सङ्घर्ष र वैज्ञानिक दृष्टिकोण अहिले पनि सान्दर्भिक छन्। उहाँले देखाएको बाटो आजको व्यावहारिक मार्गदर्शन हो—राष्ट्रिय स्वाधीनता र जनताको वास्तविक लोकतन्त्रको रक्षा गर्ने मार्ग।”



















