काभ्रे । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज बालुवाटारमा भएको छलफलमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने विश्वास दिलाउनुभएको छ।
बैठकपछि नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै दल चुनावमा जाने तयारीमा रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “सबै राजनीतिक दल चुनावमा जान तयार छन्। कांग्रेस, एमाले र अरु दल पनि तयारी अवस्थामा छन्। सरकारले सुरक्षाको वातावरण सुनिश्चित गर्नुपर्छ।”
नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री कार्कीले फरक परिस्थितिमा हुन गइरहेको निर्वाचन सफल बनाउन प्रमुख राजनीतिक दलसँग सहयोग र सहभागिता सुनिश्चित गर्न आग्रह गर्नुभएको थियो। प्रतिनिधिसभा सदस्य निर्वाचन आगामी फागुन २१ गते हुँदैछ।



















