काभ्रे । बीपी राजमार्गको चारसयबेशी–डलाबेसी खण्ड अन्तर्गत पुनर्निर्माण कार्यमा ढिस्को खस्दा एक मजदुरको मृत्यु भएको छ र एक अन्य घाइते भएका छन्।
रोशी ८ नार्के नजिक स्याउली स्थानमा सडक निर्माणको क्रममा ढिस्को खसेको थियो। इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर कार्कीका अनुसार, जाजरकोट निवासी २१ वर्षीय दिपेन्द्र थापा मगरको घटनास्थलमै मृत्यु भएको छ।
वाल लगाउन खनेको खाल्डोमा ढुंगा राख्ने क्रममा ढिस्को खसेको थियो। घटनामा घाइते भएका जाजरकोटका २३ वर्षीय नविन रोक्का छन्।
गत वर्षको रोशीखोलाको बाढीले बीपी राजमार्गको चौकीडाडा–नेपालथोक खण्ड बगाएपछि अहिले उक्त खण्डको पुनर्निर्माण कार्य भइरहेको छ।























