काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३१ वटा राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन्।
आयोगका अनुसार सूची बुझाउने दलहरूमा नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी माक्सवादी (पुष्पलाल), गतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, समावेशी समाजवादी पार्टी र समावेशी समाजवादी पार्टी नेपाल रहेका छन्। यसैगरी नेपाल जनता संरक्षण पार्टी, नागरिक शक्ति नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेशन र उन्नत लोकतन्त्र पार्टीले पनि बन्दसूची पेस गरेका छन्।
त्यस्तै, जनता लोकतान्त्रिक पार्टी नेपाल, पिपुल फस्ट पार्टी, नेपालको लागि नेपाली पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र त्रिमूल नेपालले पनि समानुपातिकतर्फको सूची बुझाएका छन्। सूची पेस गर्ने अन्य दलहरूमा स्वाभिमान पार्टी, प्रजातान्त्रिक पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) र राष्ट्रिय ऊर्जाशील पार्टी नेपाल रहेका छन्।
यसका साथै एकल चिन्ह ‘मोबाइल’ लिएका दल, राष्ट्रिय एकता दल, राष्ट्रिय गौरव पार्टी, एकल चिन्ह ‘जाँतो’ लिएका दल, श्रम संस्कृति पार्टी, नेशनल रिपब्लिक नेपाल र जनअधिकार पार्टी पनि दर्ता भएका छन्।
आयोगका अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाउने आज अन्तिम दिन हो।



















