बुटवल । रुपन्देहीको तिलोत्तमामा घरमै सुतिरहेकी १० वर्षीया बालिकालाई अपहरण गरी फरार रहेका २७ वर्षीय युवराज थारु प्रहरीको गोली लागेर पक्राउ परेका छन्।
तिलोत्तमा–१७ दरखसवाका थारुलाई शनिबार राति करिब १ बजे कान्छी बजारस्थित जंगलबाट प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ गर्ने क्रममा प्रहरीमाथि आक्रमण गर्न खोजेपछि एक राउन्ड गोली चलाइएको प्रहरीले जनाएको छ। गोली लागेर खुट्टामा चोट लागेका थारुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
थारुले बुधबार राति घरमा सुतिरहेकी बालिकालाई अपहरण गरेका थिए। प्रहरीले शुक्रबार साँझ कान्छी बजारस्थित जंगलबाट करिब ३८ घण्टापछि बालिकालाई सकुशल उद्धार गरेको थियो।
उद्धारस्थलमा भेटिएको मोबाइल फोनका आधारमा प्रहरीले अपहरणमा संलग्न थारुको पहिचान गरी खोजी थालेको थियो। बालिका हाल प्रहरीको सुरक्षामा रहेकी छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।











