बिहिबार, बैशाख १७, २०८३
गुरुङ समुदायमा आज तमु ल्होसार पर्व मनाइँदै

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागतस्वरूप आज तमु ल्होसार पर्व मनाइरहेका छन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष परिवर्तन हुने दिनलाई तमु ल्होसार भनिन्छ। गुरुङ समुदायले यस पर्वलाई नयाँ वर्षका रूपमा हर्षोल्लासका साथ मनाउने परम्परा छ।

तमु ल्होसार सूर्यको गतिसँग सम्बन्धित पर्व हो। गुरुङ समुदायको बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की र पर्वतलगायत जिल्लामा सूर्यको ताप चाँडै पुग्ने विश्वासका कारण पुस महिनामा यो पर्व मनाइन्छ। त्यसपछि क्रमशः तामाङ र शेर्पा समुदायको बसोबास भएका क्षेत्रमा सूर्यको ताप पुग्ने भएकाले उनीहरूले माघ र फागुनमा ल्होसार मनाउने चलन रहेको विश्वास गरिन्छ।

पुस १५ गतेको रात वर्षकै सबैभन्दा लामो हुने र त्यसपछि रात छोटिँदै जाने भएकाले पनि तमु ल्होसारलाई विशेष महत्त्व दिइने जानकारहरू बताउँछन्। तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ।

यस अवसरमा राजधानीको टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेका छन्। कार्यक्रममा सहभागीहरू परम्परागत तथा सांस्कृतिक वेषभूषामा सजिएर सहभागी हुनेछन् भने गुरुङ समुदायका परिकारहरूको विशेष प्रदर्शनी पनि गरिनेछ। आइतबारदेखि सुरु भएको ल्होसार महोत्सवमा हजारौँ सर्वसाधारणको सहभागिता रहेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय