काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले अहिले पनि प्रहरीले लुटिएका हतियारहरू अपराधीका हातमा रहेको र ती हतियार फिर्ता नगरेसम्म भयरहित निर्वाचनको वातावरण बनाउनु असम्भव भएको बताएका छन्।
मंगलबार नवलपुरमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै गुरुङले सरकारले लुटिएका हतियार फिर्ता गर्न नसकेकोमा असन्तोष व्यक्त गर्दै भने, “अपराधीको हातमा रहेको हतियार निर्वाचनको लागि सबैभन्दा ठूलो चुनौती हो।” उनले थपे, “जबसम्म अपराधीका हातमा रहेका हतियार फिर्ता हुँदैनन्, तबसम्म उम्मेदवार र पार्टीका नेता सुरक्षित वातावरणमा चुनाव प्रचार गर्न सक्दैनन्।”
गुरुङले भनें, “यदि अपराधीको हातमा भएको बन्दुकबाट कुनै पनि उम्मेदवार, नेता वा प्रतिनिधि मर्न सक्छन् भने चुनावको वातावरण तयार हुन सक्दैन।”
त्यसका साथै, गुरुङले आफूहरू चुनावबाट भागेको नभई, चुनावको उचित वातावरणको आवश्यकता रहेको उल्लेख गरे। उनले संसद् पुनर्स्थापना गर्नुपर्ने पक्षमा रहेको भन्दै भने, “संसद् पुनर्स्थापना भएमा संविधान लिकमा आउनेछ, र यो प्रक्रिया पूरा गर्नु आवश्यक छ।”



















