ओखलढुङ्गा । जिल्ला प्रहरी कार्यालयले श्रृङ्खलाबद्ध हत्यामा संलग्न चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
गत असोजमा चार्खुमा एकल महिला रत्नकुमारी कटवालको हत्या र यही पुसमा भदौरेमा मगर दम्पत्तिको हत्या भएको घटनामा पक्राउ पर्नेमा चिशङ्खुगढी–३, दियालेका २८ वर्षीय सङ्गम राई, सोई–४, रातमाटेका ३० वर्षीय विनोद राई, रातमाटेका ३० वर्षीय प्रकाश भुजेल र सोई–८, माम्खाका ३० वर्षीय अशोक भुजेल छन्।
रत्नकुमारी कटवालको हत्या असोज २६ गते राति उनको घरमै गरिएको थियो, जसमा हत्याराले नगद र गरगहना लुटेर फरार भएका थिए। भदौरे घटनामा ६० वर्षीय शोभितमान थापा मगर र ६० वर्षीया रत्नमाया थापामगरको हत्या गरी रु एक लाख नगद र दुई तोला सुनको गहना लुटिएको थियो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, कोशी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले यस श्रृङ्खलाबद्ध हत्यामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको हो।



















