काठमाडौं । राजधानीको माछापोखरी क्षेत्रबाट सुनका गहना र विद्युतीय सामग्री चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई हाल तारकेश्वर–५, गोलढुङ्गामा बस्ने २२ वर्षीय मनोज थापा नियन्त्रणमा लिइएको हो।
नुवाकोट शिवपुरी–७ घर भई काठमाडौँ–१६, माछापोखरीमा डेरा गरी बस्ने व्यक्तिको कोठाबाट पौष १८ गते दिउँसो सुन, मोबाइल, घडी र अन्य सामग्री चोरी भएको थियो। चोरीको जानकारी पाएलगत्तै प्रहरी वृत्त बालाजुबाट खटिएको विशेष टोलीले थापाको घरमा खानतलासी गरेको थियो।
थापाको साथबाट एउटा आइटेल मोबाइल, दुईवटा गितार, क्यासियो घडी र एउटा पावर बैंक पनि फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ। पक्राउ परेका थापालाई काठमाडौँ जिल्ला अदालतले पाँच दिनको म्याद थप गरी हिरासतमा राखेको छ र उनीमाथि चोरी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















