काठमाडौं । बाँके राष्ट्रिय निकुञ्जले राप्तीसोनारी गाउँपालिका-१ कुसुमस्थित सौरीमा क्यामेरा जडान गरेर मान्छे आक्रमण गर्ने बाघको खोजी गरिरहेको छ।
निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार, घटनास्थलको आसपास पाँच थान क्यामेरा जडान गरेर अनुगमन भइरहँदा पनि हालसम्म बाघ फेला परेन। उनले भने, “हामीले घटनास्थलको वरिपरिको क्षेत्रमा क्यामेरा जडान गरेर बाघको खोजी गरिरहेका छौँ, तर हालसम्म कुनै चिह्न भेटिएको छैन। बाघ आहारा पछि आफ्नो बाटो लागेको हुनसक्छ।”
शनिबार कुसुमस्थित सौरीका ६२ वर्षीय मरिचमान भण्डारीलाई गाई चराउन जाँदा बाघले आक्रमण गरी मृत्यु गरेको थियो, जसपछि सो क्षेत्रका स्थानीयवासी त्रसित भएका छन्।
कँडेलका अनुसार, बाघले भण्डारीमाथि आक्रमण गर्न सम्भवतः आफ्नो आहारा जोगाउनको लागि गरेको अनुमान गरिएको छ। “बाघ गाई मारेर खाइरहेको अवस्थामा भण्डारी नजिकै पुगेका थिए, जसको कारण आक्रमण भएको हुनसक्छ,” कँडेलले भने।



















