काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय सुरक्षासँग सम्बन्धित जोखिमको मूल्यांकनका लागि प्रदेश तहबाट सुरक्षासम्बन्धी सूचना संकलन, विश्लेषण र मूल्यांकन गर्न प्रदेशका कर्मचारी नेतृत्व र सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन्।
आज गृहमन्त्री अर्यालको अध्यक्षतामा गृहसचिव राजकुमार श्रेष्ठको उपस्थितिमा भएको छलफलमा, सातै प्रदेशका प्रमुख सचिव, आन्तरिक मामिला र कानुन मन्त्रालयका सचिवहरू, र सुरक्षा निकायका प्रमुखहरूबीच विद्यमान सुरक्षा अवस्था, अपराध नियन्त्रण, सीमा सुरक्षा र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा चर्चा भएको थियो।
गृहमन्त्री अर्यालले सम्बन्धित निकायलाई कानुनद्वारा दिइएको अधिकार, असल अभ्यास र सुरक्षासम्बन्धी जिम्मेवारीलाई मनन गर्दै निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले थपे, “प्रशासकको भूमिकाभन्दा अब सबै कर्मचारीहरूले सहजकर्ता, समन्वयकर्ता र उत्प्रेरकको भूमिका निर्वाह गर्नु पर्छ।”
सुरक्षा संयन्त्रलाई चुस्त र मजबुत बनाउनुपर्ने भन्दै गृहमन्त्री अर्यालले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र समन्वयको महत्व जोड्दै समाजलाई थप गतिशील र प्रभावकारी बनाउन आह्वान गरे।



















