काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन प्रक्रिया सुरु हुँदैछ। निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रियसभा सदस्यहरूको निर्वाचन गर्न लागेको हो, जसमा कुल १८ रिक्त सदस्यका लागि मतदान हुनेछ।
आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारहरूको मनोनयन पत्र दर्ता गर्न सकिने आयोगले जानकारी दिएको छ।
आयोगका अनुसार, पौष २४ गते उम्मेदवारको विरोधमा उजुरी दर्ता गरिनेछ, पौष २७ गते उम्मेदवारले नाम फिर्ता लिन सक्ने र सोही दिन दिउँसो अन्तिम नामावली सार्वजनिक हुनेछ। पौष २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण गरिनेछ। मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ।
राष्ट्रियसभा सदस्यहरूको पद आगामी फागुन २० गतेदेखि रिक्त हुँदैछन्। यस निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरू मतदानकर्ता छन्।



















