काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ बन्दसूचीमा परेका विभिन्न राजनीतिक दलका १६४ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।
निर्वाचन आयोगका अनुसार सोमबारसम्म १८ वटा राजनीतिक दलका उम्मेदवारहरूले आवश्यक निवेदन पेश गर्दै नाम फिर्ता लिएका हुन्। उम्मेदवारी फिर्ता लिनेमा सबैभन्दा धेरै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ७८ जना रहेका छन्।
त्यसैगरी जनता समाजवादी पार्टी नेपालका २१, जनमत पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १२ र जनादेश पार्टी नेपालका ६ जना उम्मेदवारले नाम फिर्ता लिएका छन्। नेकपा (एमाले) बाट ५ जना तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र राष्ट्र निर्माण दल नेपालबाट ४–४ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उन्नत लोकतान्त्रिक पार्टीबाट २–२ जना उम्मेदवारले नाम फिर्ता लिएका आयोगले जनाएको छ। यसैगरी गतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, संघीय लोकतान्त्रिक पार्टी र संयुक्त नागरिक पार्टीबाट १–१ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।
निर्वाचन आयोगका अनुसार माघ ४ गते समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरिनेछ।



















