काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिबारे छलफल गर्दै प्रदेशस्तरीय सुरक्षा गोष्ठीहरू सम्पन्न भएका छन् । लुम्बिनी प्रदेशको रुपन्देहीबाट गत मङ्सिर ९ गतेदेखि सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठी मङ्गलबार मधेस प्रदेशको जनकपुरमा पुगेर सम्पन्न भएको हो ।
सङ्घीय सरकारअन्तर्गत गृह मन्त्रालय र प्रदेश सरकारको संयुक्त आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको प्रदेशस्तरीय सुरक्षा गोष्ठी यस वर्ष विशेष रूपमा निर्वाचन लक्षित सुरक्षामा केन्द्रित रहेको जनाइएको छ । गोष्ठीमा आन्तरिक सुरक्षा व्यवस्थापनसँगै निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गर्ने उपायबारे विस्तृत छलफल गरिएको थियो ।
मङ्गलबार जनकपुरमा आयोजित मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले तोकिएको मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन चारवटै सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले ‘एकीकृत सुरक्षा योजना–२०८२’ कार्यान्वयनमा ल्याएको छ । साथै निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी कार्यविधि, २०८२ पनि स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको छ ।
सोहीअनुसार नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी छनोटको प्रक्रिया अघि बढाएको छ । यसपटकको निर्वाचनमा ८८ हजार नेपाली सेना, ७७ हजार नेपाल प्रहरी र करिब ३४ हजार सशस्त्र प्रहरी परिचालन गरिनेछ । नेपाल प्रहरीले दुई हजार ८४५ मतदानस्थललाई सामान्य, चार हजार ४४२ लाई संवेदनशील र तीन हजार ६८० मतदानस्थललाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ ।



















