काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग आज बिहान नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।
भेटका क्रममा तामाङ समुदायको जनसंख्या, भाषा–संस्कृति तथा आर्थिक–सामाजिक अवस्थालगायत विषयमा छलफल भएको थियो । घेदुङले आगामी माघ ५ गते सोनाम ल्होसारका अवसरमा काठमाडौँमा आयोजना गर्न लागिएको तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन प्रधानमन्त्री कार्कीलाई आग्रह गरेको छ ।
घेदुङका पदाधिकारीहरूले तामाङ समुदायको जनसंख्या ३० लाखभन्दा बढी रहेको भए पनि जनगणनामा भएको त्रुटिका कारण करिब १७ लाख मात्र देखिएको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
भेटका क्रममा प्रधानमन्त्री कार्कीले वर्तमान अवस्थाबाट लोकतान्त्रिक निकासका लागि निर्वाचन नै एक मात्र विकल्प भएको बताउँदै समाजका सबै तह र तप्काबाट सहयोग आवश्यक रहेको उल्लेख गरिन् ।
उनले भनिन्, “मुलुक चुनावमा होमिएको छ । यो सामान्य चुनाव होइन, देशलाई निकास दिने र दिगो स्थिरतातर्फ लैजाने चुनाव हो । भदौ २३ र २४ गतेलाई सबैले दिमागमा राख्नुपर्छ । अब यस्ता अवस्था बारम्बार दोहोरिनु हुँदैन । युवाको आकांक्षाअनुसार अघि बढ्नुपर्छ ।”
प्रधानमन्त्री कार्कीले आउँदो निर्वाचनमा नयाँ सोच भएका, युवा र इमानदार प्रतिनिधिलाई संसदमा पठाउन आग्रह गर्दै पुरानो मानसिकता, सोच र शैलीले अब देश चल्न नसक्ने स्पष्ट पारिन् ।



















