काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी रूपान्तरण भइसकेको उल्लेख गर्दै अबका दिनमा देशको रूपान्तरण गर्ने जिम्मेवारी काँग्रेसले लिने प्रतिवद्धता जनाएका छन् ।
गगन थापाको समूहलाई निर्वाचन आयोगले मान्यता दिएपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महामन्त्री पौडेलले नेपाली काँग्रेस नयाँ जोश, नयाँ योजना र सुशासनप्रतिको दृढ संकल्पसहित देशको नेतृत्व लिन पूर्ण रूपमा तयार भइसकेको बताएका छन् । साझा प्रयासकै कारण पार्टी थप गतिशील, जनउत्तरदायी र विधिसम्मत बनेको उनको भनाइ छ ।
उनले लेखेका छन्, “अबको काँग्रेस निर्वाचनमार्फत देशको बागडोर सम्हाल्ने र नागरिकको समृद्धिको सपना साकार पार्ने लक्ष्यतर्फ केन्द्रित हुनुपर्छ । अब नागरिकलाई स्पष्ट रूपमा भन्नुपर्छ—काँग्रेस रूपान्तरण भएको छ, अब काँग्रेसले देशको रूपान्तरण गर्नेछ ।”
महामन्त्री पौडेलले मुलुक आम निर्वाचनको संघारमा उभिएको उल्लेख गर्दै नागरिकले एक सबल, सक्षम, एकताबद्ध र विधिमा चल्ने नेपाली काँग्रेसको अपेक्षा गरिरहेको धारणा राखेका छन् ।
उनले दोस्रो विशेष महाधिवेशनमा सहभागी नभएका नेताकार्यकर्तालाई पनि एकतामा आउन आह्वान गर्दै भनेका छन्, “हिजो सहभागी नभएका साथीहरू पनि अब सँगै सहयात्रा गरौँ । हामी हिजो पनि एक थियौँ, आज पनि एक छौँ र भोलि पनि सँगै हुनेछौँ । कसैले पनि आफू हारेको महसुस गर्नुपर्ने अवस्था छैन । सबै मन र मुटुलाई एउटै छातामुनि गोलबद्ध बनाउने इमान्दार प्रयास हाम्रो तर्फबाट निरन्तर जारी रहनेछ ।”
आगामी यात्रामा युवा पुस्ता (जेन–जी)ले उठाएका आवाजलाई बुलन्द बनाउँदै बदलिएको नीति र नेतृत्वसहित पार्टीलाई अझ सशक्त र एकताबद्ध बनाउन चारतारे झण्डामुनि सबैलाई सक्रिय सहभागिताका लागि आह्वान गर्दै उनले भनेका छन्, “तपाईंले खोजेको रूपान्तरणित नेपाल निर्माणको महाअभियानमा हामीसँगै सहकार्य गर्न जेन–जी पुस्ताका साथीहरूलाई विशेष अनुरोध गर्दछौं ।”



















