काठमाडौँ । मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासालाई निःशुल्क जानकारी दिने उद्देश्यले निर्वाचन आयोगले आजदेखि ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको छ। निर्वाचनसम्बन्धी कुनै जिज्ञासा भए टोल फ्री नम्बर ११०२ मा फोन गरेर जानकारी लिन सकिने आयोगले जनाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ‘कल सेन्टर’ मा हाल छ वटा डेस्क स्थापना गरिएको छ, जहाँबाट एकैसाथ मतदाताका प्रश्नहरूको समाधान गरिनेछ। कामको चाप बढेमा डेस्क संख्या थप गर्न सकिने पनि उनले बताए।
‘कल सेन्टर’ मा गण्डकी प्रदेशबाट फोन गर्ने पहिलो व्यक्तिले लोकसेवा आयोगको परीक्षा निर्वाचन आचारसंहिताका कारण प्रभावित हुन्छ कि हुँदैन भन्ने जिज्ञासा राखेका थिए। त्यसमा अधिकारीहरूले यसअघि नै तय भइसकेका परीक्षा निर्वाचन आचारसंहिताले प्रभावित नहुने स्पष्ट जवाफ दिएका थिए।
निर्वाचन आयोगका अनुसार ‘कल सेन्टर’ बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी जानकारी लिन वा जिज्ञासा राख्न आजदेखि उम्मेदवार विजयी भई प्रमाणपत्र नदिइएसम्म यो सेवा निरन्तर सञ्चालनमा रहनेछ।



















