काठमाडौँ । काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेशलाई थप बलियो र अधिकार सम्पन्न बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
रास्वपाको चुनावी अभियानअन्तर्गत आज जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले संघीय शासन प्रणालीलाई अझ सुदृढ बनाइनुपर्ने बताए। जनकपुर मधेश प्रदेशको राजधानी भए पनि सामान्य प्रशासनिक कामका लागि समेत काठमाडौँ धाउनुपर्ने अवस्था दुःखद भएको उनको भनाइ थियो।
“जनकपुर मधेश प्रदेशको राजधानी हो। तर यहाँको नगरपालिकाको कार्यकारी अधिकृत पाउन काठमाडौँ जानुपर्छ, काठमाडौँसँग माग्नुपर्छ,” बालेनले भने, “मधेशबाट काठमाडौँ अधिकार खोज्न होइन, पशुपतिनाथ दर्शन गर्न जाने अवस्था हुनुपर्छ।”
बालेनले आफू काम गरेर देखाउने व्यक्ति भएको उल्लेख गर्दै काठमाडौँ महानगरपालिकाको मेयरका रूपमा रहेर सीमित अधिकारका बीच पनि उल्लेखनीय काम गरेको बताए। माइतीघरमा उखु किसान र मिटरब्याज पीडितले आन्दोलन गर्दा आफूले चाहँदाचाहँदै पनि मुकदर्शक बन्नुपरेको अनुभव सुनाउँदै उनले भने, “अब म गरेर देखाउँछु। काठमाडौँको मेयर भएर ३५ पालिकालाई एम्बुलेन्स दिन सकेँ भने संघ सरकारमा गएँ भने कति काम गर्न सकिएला ?”



















