सोमबार, बैशाख ०७, २०८३
फागुन २१ को निर्वाचनका लागि ४९ उम्मेदवारको उम्मेदवारी फिर्ता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ।

आयोगले आज आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगको प्रणालीमा प्राप्त हालसम्मको विवरणअनुसार ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी दिनुभयो। यस विषयमा थप विवरण आउने क्रम जारी रहेको उहाँले बताउनुभयो।

निर्वाचन आयोगका अनुसार उम्मेदवारी दर्तादेखि फिर्ता लिनेसम्मका सबै निर्वाचन कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएका छन्। समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको नामावली प्रकाशन गरी माघ १० गतेसम्म दाबी–विरोधका लागि समय दिइएको पनि आयोगले जनाएको छ।

राजनीतिक दलहरूले समानुपातिक प्रणालीका लागि गत पुस १३ र १४ गते बन्दसूची पेस गरेका थिए। माघ १० गते शनिबार दाबी–विरोधको प्रक्रिया सम्पन्न भएपछि समानुपातिकतर्फको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जानकारी दिएको छ।

यसैगरी प्रत्यक्ष निर्वाचनतर्फको अन्तिम उम्मेदवार नामावली आज देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयमार्फत सार्वजनिक गरिएको छ। आज अपराह्न ४ बजेदेखि ७ बजेसम्म ती कार्यालयमार्फत दलगत तथा स्वतन्त्र उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो।

सिफारिस

ताजा समाचार

लोकप्रिय