काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ठूलो गिरावट देखिएको छ। नेप्से परिसूचक ४२ दशमलव ५८ अंकले घटेर दुई हजार ७२६ दशमलव ५१ विन्दुमा झरेको छ, जुन एक दशमलव ५३ प्रतिशतको गिरावट हो।
आज ३३३ कम्पनीका तीन करोड दुई लाख ६२ हजार ७१० कित्ता शेयर एक लाख ४२ हजार ४७६ पटक कारोबार हुँदा कुल रू १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार ४४२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
कारोबारमा सहभागी सबै समूहका उपसूचक घटेका छन्। बैंकिङ समूह एक दशमलव ४९, विकास बैंक एक, वित्त दुई दशमलव ४४, होटल तथा पर्यटन एक दशमलव ९०, जलविद्युत् एक दशमलव ४१, लगानी एक दशमलव ७०, जीवन बीमा एक दशमलव १ ८५, उत्पादन तथा प्रशोधन एक दशमलव ४०, निर्जीवन बीमा एक दशमलव ७४, व्यापार शून्य दशमलव ५१ र अन्य समूह एक दशमलव ९७ प्रतिशतले घटेका छन्।
आज सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै आठ दशमलव ५६ प्रतिशतले बढेको छ भने ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्य छ दशमलव ९३ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा राधी विद्युत् कम्पनी लिमिटेडको रू ५७ करोड ८५ लाख १६ हजार ७७ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै, कारोबार भएको शेयर सङ्ख्याका आधारमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको १७ लाख ८० हजार ८८८ कित्ता शेयर कारोबार भएको नेप्सेले जनाएको छ।



















