सोमबार, बैशाख ०७, २०८३
निर्वाचन आचारसंहिता उल्लङ्घन आरोपमा तीन उम्मेदवार र तीन सरकारी निकायलाई आयोगले स्पष्टीकरण सोध्यो

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन आरोपमा आयोगले तीन उम्मेदवार र तीन सरकारी निकायलाई स्पष्टीकरण सोध्यो।

निर्वाचन आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार बाँके क्षेत्र नं. ३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनार, सप्तरी क्षेत्र नं. २ का डा. चन्द्रकान्त राउत (सिके राउत), र काठमाडौँ क्षेत्र नं. ५ की उम्मेदवार निशा अधिकारीलाई आचारसंहिता उल्लङ्घनको उजुरी परेकाले स्पष्टीकरण सोधिएको हो।

सुनारमाथि राष्ट्रिय जनावर गाईलाई लिएर साम्प्रदायिक विद्वेष फैलाएको उजुरीका आधारमा स्पष्टीकरण मागिएको छ भने राउतमाथि निर्वाचन क्षेत्रमा चुनाव चिह्न र झन्डाको तोरण झुन्ड्याएको उजुरीका आधारमा सोधिएको छ।

अधिकारीसँग भने अष्ट्रेलियामा रहेका नेपालीलाई क्युआर कोडमार्फत अभियान सहयोग गर्न फारम पठाएको विषयमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।

यसैगरी, पूर्वाञ्चल विश्वविद्यालय, मोरङको करार कर्मचारी छनोटको लिखित परीक्षा सञ्चालन तथा परीक्षाफल प्रकाशन रोक्ने तयारीबारे, देउती आधारभूत विद्यालय भैरवी–३ का शिक्षक देवीराम आचार्यलाई दल विशेषलाई मत मागेको विषय, र गुठी संस्थानका प्रमुख लामाले निर्वाचन आचारसंहिता विपरीत निर्णय गरेको उजुरीका आधारमा तीन सरकारी निकायलाई पनि स्पष्टीकरण सोधिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय