सोमबार, बैशाख ०७, २०८३
बाँकेमा निर्वाचन आचारसंहिता पालनामा दल र उम्मेदवार सहमत

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मर्यादित, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न बाँकेका राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन आचारसंहिता पालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

दुर्गम क्षेत्रका रूपमा चिनिने बाँकेको नरैनापुरमा आयोजित सर्वदलीय बैठकमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने सहमति जुटेको हो । बैठकमा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले दल तथा उम्मेदवारलाई आचारसंहिता पालनामा गम्भीर बन्न आग्रह गर्दै आयोगले निर्वाचनको नियमित अनुगमन र नियमन गर्ने जानकारी दिए ।

निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले जिल्लामा देखिएका केही चुनौतीपूर्ण अवस्थाबारे उठेका जिज्ञासा सम्बोधन गरिएको उल्लेख गर्दै सबै दल र उम्मेदवार आचारसंहिता पालनामा प्रतिबद्ध रहेको बताए । निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउन आचारसंहिताको कडाइका साथ पालना आवश्यक रहेको उनको भनाइ छ ।

यसैबीच, निर्वाचन क्षेत्र नम्बर २ मा पनि निर्वाचन आचारसंहिता पालनासम्बन्धी सर्वदलीय बैठक सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जानकारी दिए । यसअघि निर्वाचन क्षेत्र नम्बर ३ को सर्वदलीय बैठकसमेत सम्पन्न भइसकेको छ ।

बैठकहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राष्ट्रिय जनमोर्चा नेपालका प्रतिनिधि तथा स्वतन्त्र उम्मेदवारहरूको सहभागिता रहेको थियो ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँके जिल्लामा कुल ३ लाख ५० हजार ३७१ जना मतदाता रहेका छन् । निर्वाचन सुरक्षाका लागि जिल्लामा २ हजार ४९१ निर्वाचन प्रहरी छनोट गरिएको छ । जसमा नेपाल प्रहरीतर्फ २ हजार १८८ र सशस्त्र प्रहरीतर्फ ३०३ जना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार निर्वाचन सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचन प्रहरीसँग सहकार्य गर्नेछन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय