काभ्रे । आदर्श विद्या मन्दिर स्कुलको २१औँ वार्षिकोत्सव तथा अभिभावक भेला प्याब्सनका केन्द्रीय उप–महासचिव भिमसेन केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि केसीले विद्यार्थीमा सकारात्मक सोच, सिकाइको अभ्यास र निरन्तर अध्ययनसँगै व्यवहारिक शिक्षा अनिवार्य रहेको बताए। पछिल्लो समय विद्यार्थीहरूमा पढ्ने र सिक्ने बानी कमजोर बन्दै गएको उल्लेख गर्दै उनले अध्ययनबिना कुनै पनि क्षेत्रमा सफल हुन नसकिने स्पष्ट पारे। साथै उनले विद्यार्थीलाई अनुशासन, नैतिकता, व्यवहारिकता र प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए।
कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन संस्थापक प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले प्रस्तुत गरेका थिए। उनले विद्यालयमा प्ले ग्रुपदेखि कक्षा १२ सम्म अध्ययन अध्यापन हुँदै आएको जानकारी दिए। जिल्लामै संस्थागत विद्यालयतर्फ आईएसओ प्राप्त गर्ने पहिलो विद्यालय रहेको, लोप हुँदै गएको संस्कृत विषयको अध्यापन सुरु गरिएको, विद्यालयको आफ्नै फुटसल मैदान रहेको तथा कक्षा ११ र १२ मा विज्ञान, कानून र व्यवस्थापन विषय पढाइ हुँदै आएको बताए।
विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि नियमित अध्ययनसँगै अतिरिक्त कक्षा, चित्रकला, शैक्षिक प्रदर्शनी, नृत्य प्रतियोगिता, वक्तृत्वकला तथा खेलकुद गतिविधि सञ्चालन गर्दै आएको पनि उनले जानकारी दिए। कार्यक्रममा प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेल, बनेपा प्याब्सनका अध्यक्ष महेन्द्र विष्ट, पनौती प्याब्सनका अध्यक्ष रामचन्द्र देउजा लगायतले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा सहायक प्रिन्सिपल ललिता बञ्जाराले स्वागत मन्तव्य राखेकी थिइन् भने सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण आचार्यले गरेका थिए। सो अवसरमा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

























